
भद्रपुर २३, असोज / प्रादेशिक अस्पताल भद्रपुर सञ्चालित ए आर टी क्लिनिकको व्यवस्थापन समितिको बैठक आज भद्रपुरमा बसेको छ।नेपाल सरकारसँगको सहकार्यमा एचआईभी/एड्स रोकथाम, निःशुल्क परीक्षण र एआरटी (ART) उपचार सेवा प्रदान गर्दै आइरहेको AHF Nepal को प्रादेशिक अस्पताल भद्रपुरमा सञ्चालित ए आर टी क्लिनिकको व्यवस्थापन समितिको बैठक बसेको हो।
बैठकमा प्रादेशिक अस्पताल भद्रपुरका एआरटी (ART) क्लिनिक इन्चार्ज परिवेशराज बिष्टले सहजीकरण गर्नुभएको थियो। उहाँले, क्लिनिकबाट AHF Nepal काे सहयोगमा औषधी छुटेका बिरामीहरू (Regular clients) को लागि नियमित फलो-अप गर्ने गरिएको तथा AHF Nepal को प्रभावकारी वकालतका कारण अस्पतालमा एचआइभी सङ्क्रमित महिलाहरूका लागि सुरक्षित रूपमा सिजेरियन सेक्सन (PMTCT c/s) लगायतका शल्यक्रिया सेवाहरू सञ्चालन गर्न कार्यविधि (SOP) तयार भई सहमति जुटाइएको बताउनुभयो।
पछिल्लो ९ महिनामा ११ वटा केसहरूको उपचार निरन्तरता (Retention) बढाउन एएचएफ नेपालले महत्वपूर्ण प्रयास र सफलता हासिल गरेको जनाउँदै उहाँले गर्ल्स एक्ट कार्यक्रम अन्तर्गत विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नुका साथै एकल महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन बाख्रा खरिदका लागि आर्थिक सहयोग (Seed money) प्रदान गरिएको जानकारी दिनुभयो। त्यसैगरी,फुड फर हेल्थ कार्यक्रम मार्फत एक जना एकल महिलालाई कृषि उपजहरू (agricultural products) खरिद गरी जीविकोपार्जनमा आर्थिक सहयोग पुर्याइएको तथा बिरामीहरूका लागि पोषण, यातायात, औषधी र जटिल केसहरूको लागि आवश्यक सहयोग कार्य निरन्तर भइरहेको पनि जनाउनुभयो। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्रकुमार दासले सबै सरोकारवाला निकायको समन्वयमा झापामा एएचएफ नेपालले पुर्याएको सहयोगको उच्च प्रशंसा गर्नुभयो।
एएचएफले विश्वभर ३० लाखभन्दा बढी संक्रमितहरूलाई उपचार र हेरचाह सेवा (Lives in Care) पुर्याएर एउटा ऐतिहासिक कोसेढुङ्गा पार गरेको छ, जसमा एएचएफ नेपालको पनि महत्त्वपूर्ण योगदान रहेको छ। संस्थाले हाल उपचार नै जीवन हो-अभियानमार्फत एचआईभी परीक्षण र उपचारमा बजेट बढाउन पैरवी गरिरहेको छ।
