
भद्रपुर ५, जेठ / झापाको भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन बत्ती (फ्लडलाइट) जडान गर्न कोशी प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, भद्रपुर नगरपालिका र जिल्ला खेलकुद विकास समितिबीच औपचारिक रूपमा त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। कोशी प्रदेश सरकारको परियोजना अन्तर्गत बजेट कार्यान्वयनका लागि यो सम्झौता गरिएको हो। सम्झौता सम्पन्न भएसँगै अब रङ्गशालामा लाइट जडानको ठेक्का प्रक्रिया द्रुत गतिमा अघि बढ्नेछ।'भद्रपुर झापा गोल्डकप' को भव्य र सफल आयोजनालाई मुख्य आधार मान्दै मेची रङ्गशालालाई आधुनिक खेलकुद केन्द्रको रूपमा विकास गर्न यो योजना अघि सारिएको हो। फ्लडलाइट जडान भएपछि रङ्गशालामा रात्रिकालीन समयमा पनि खेलकुद गतिविधिहरू सहजै सञ्चालन गर्न सकिनेछ, जसले यस क्षेत्रको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास गरिएको छ।उक्त सम्झौता कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री माननीय चिन्तन पाठक, मन्त्रालयका सचिव तथा मन्त्रालयको टोलीको विशेष उपस्थिति रहेको थियो।त्यस्तै, भद्रपुर नगरपालिकाका प्रमुख (मेयर) गणेश पोखरेल र जनप्रतिनिधिहरूको टोली, पूर्व सांसद बसन्त बानिया, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, उपाध्यक्ष मनोज सुब्बा, भद्रपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष अभिषेक ढुङ्गाना, नितेश बर्मा, र टिकाराज ढकाल लगायतको टोलीको उपस्थिति रहेको थियो।
