
भद्रपुर/काठमाडौं, भारत सरकारले आयातित चियासम्बन्धी परीक्षण तथा गुणस्तर प्रमाणीकरण प्रक्रियामा संशोधन गरेपछि नेपाली चिया पुनः भारतीय बजारमा सहज रूपमा निर्यात हुन सक्ने संकेत देखिएको छ। भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको टी बोर्ड इन्डियाले हालै जारी गरेको संशोधित सूचनाले नेपालमा उत्पादित चियाको भारतीय बजार पहुँचमा देखिएको अवरोध हट्ने अपेक्षा व्यवसायीहरूले गरेका छन्।
यसअघि भारतले आयातित चियामा कडाइ गर्दै टी बोर्ड इन्डियाबाट अनिवार्य परीक्षण तथा प्रमाणीकरण व्यवस्था लागू गरेपछि नेपालबाट भारत निर्यात हुने चियाको ढुवानी प्रभावित बनेको थियो। विशेषगरी पूर्वी नेपालका झापा, इलाम, पाँचथरलगायत जिल्लाबाट भारततर्फ निकासी हुने ठूलो परिमाणको चियामा प्रशासनिक जटिलता थपिँदा व्यवसायी चिन्तित बनेका थिए।
भारतीय बजारमा नेपाली चियाको उल्लेख्य हिस्सा खपत हुने भएकाले नयाँ व्यवस्थाले निर्यात व्यापारमा प्रत्यक्ष प्रभाव पारेको थियो। व्यवसायीहरूले गुणस्तर परीक्षणका नयाँ प्रक्रियाले लागत र समय दुवै बढाएको तथा सीमामा चिया रोकिँदा आर्थिक असर परेको गुनासो गर्दै आएका थिए।
तर टी बोर्ड इन्डियाले जारी गरेको पछिल्लो संशोधनअनुसार पुनः निर्यातका लागि आयात गरिएका चियाको हकमा मात्रै बोर्डबाट अनिवार्य परीक्षण हुने व्यवस्था कायम गरिएको छ। स्वदेशी बिक्रीका लागि आयात गरिएका चियामा भने भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (FSSAI) र भन्सार निकायले आफ्नो जोखिम व्यवस्थापन प्रणालीअनुसार नमुना परीक्षण गर्ने व्यवस्था राखिएको छ।
यस संशोधनलाई नेपाली चिया निर्यातकर्ताले सकारात्मक रूपमा हेरेका छन्। भारतमा बिक्रीका लागि जाने नेपाली चियाको निकासी प्रक्रिया सहज बन्ने र केही समययता देखिएको अन्योल कम हुने अपेक्षा गरिएको छ।
नेपालको चिया क्षेत्र भारतीय बजारमा अत्यधिक निर्भर रहँदै आएको छ। विशेषगरी अर्थोडक्स र सिटिसी चिया उत्पादन गर्ने उद्योगहरूले भारतलाई प्रमुख निर्यात गन्तव्यका रूपमा उपयोग गर्दै आएका छन्।
व्यवसायीहरूले भारतको संशोधित व्यवस्थापछि विगत केही समयदेखि देखिएको निकासी अवरोध क्रमशः हट्ने र नेपाली चिया उद्योगले राहत महसुस गर्ने विश्वास व्यक्त गरेका छन्।
