
भद्रपुर३१, असोज / लेखिका श्रेया पोखरेलद्वारा लिखित अङ्ग्रेजी उपन्यास ‘And They Say It’s Easy’ को विमोचन गरिएको छ। कार्यक्रममा वक्ताहरूले युवा उमेरमै साहित्यिक क्षेत्रमा पाइला चालेर पहिलो कृति प्रकाशन गर्न सफल भएकामा लेखिका पोखरेलको प्रशंसा गर्दै साहित्यिक यात्राको सफलताको शुभकामना व्यक्त गरे।
मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख जीवन पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल प्रमुख अतिथि तथा सन्तोष पोखरेल विशेष अतिथि हुनुहुन्थ्यो।
कार्यक्रममा लेखिका श्रेया पोखरेलले आफ्नो पहिलो कृतिबारे जानकारी गराउँदै पुस्तक लेखनको अनुभव र सिर्जनात्मक यात्राबारे चर्चा गर्नुभएको थियो।
उपन्यासमाथि सोनु पुडासैनी र च्यवनमणि पोखरेलले समीक्षा प्रस्तुत गर्नु भएको थियो । समीक्षकहरूले कृतिका विभिन्न पक्षबारे आफ्ना धारणा राख्दै पुस्तकको साहित्यिक महत्त्व र लेखकीय प्रयासमाथि चर्चा गर्नु भएको थियो।
कार्यक्रममा गोविन्द कोइराला, विशेष अतिथि सन्तोष कोइराला र प्रमुख अतिथि गणेश पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उहाँहरूले लेखिका पोखरेलको सिर्जनात्मक यात्राको प्रशंसा गर्दै आगामी दिनमा पनि साहित्यिक क्षेत्रमा निरन्तर सक्रिय रहन शुभकामना दिनुभयो। भद्रपुर नगरपालिकाको वडा नं ७ का वडा अध्यक्ष अभिषेक ढुङ्गानाले स्वागत मन्तव्य राखेको कार्यक्रमको उद्घोषण सुभाष भट्टराईले गर्नु भएको थियाे भने कार्यक्रमको अन्त्यमा लेखिकाका बुवा बसन्त पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो।
२१ वर्षकै उमेरमा पहिलो कृति प्रकाशन गर्न सफल पोखरेलको साहित्यिक प्रयासलाई सहभागीहरूले उत्साहजनक रूपमा लिएका थिए।

