
भद्रपुर २३, असोज / विश्व मानसिक स्वास्थ्य सेवा दिवसको अवसरमा भद्रपुरमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। इनर ह्वील क्लब भद्रपुरको आयोजना र इनरह्वील क्लब बिर्तामोड मिडटाउनको सह आयोजनामा मानसिक स्वास्थ्य र रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
इनर ह्वील क्लब भद्रपुरकी प्रेसिडेन्ट डिक्छेन शेर्पा राईको अध्यक्षता र भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमलाई विराट टिचिङ हस्पिटल विराटनगरको मनोरोग विभागले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।
कार्यक्रममा सो अस्पतालका मानसिक रोग विभाग प्रमुख डाक्टर नवराज कोइराला र डाक्टर भवेशकुमार मल्लिकले सहजीकरण गर्नुभएको थियो। स्थानीय एयरपोर्ट होटलमा आयोजित कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि उपप्रमुख राधा कार्की र सहजकर्ता डाक्टर कोइरालाले मन्तव्य राख्नुभएको थियो भने संस्थापक अध्यक्ष कुशुम अधिकारी पराजुलीले स्वागत मन्तव्य, क्लबकी निवर्तमान अध्यक्ष अमृता हुमागाई पराजुलीले धन्यवाद मन्तव्य र प्रेसिडेन्ट शेर्पाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन क्लबका तर्फबाट प्रभा आचार्य ढकालले गर्नुभएको थियो।
सहजकर्ता डाक्टर कोइरालाले मानसिक स्वास्थ्य र मानसिक रोगको बारेमा जानकारी दिँदै मानसिक समस्या १० देखि १५ प्रतिशत मानिसहरूमा हुने र मानसिक रोग २ देखि ३% मानिसहरू पाइने गरेको बताउनु भयो। उहाँले भन्नुभयो- "मानसिक समस्या भएका सबै मानिस मानसिक रोगी होइनन् तर मानसिक रोग भएका मानिसहरु मानसिक समस्याका पीडित हुन् ।"
तसर्थ उहाँको आग्रह छ- "मानसिक रोगी हुनबाट बच्न मानसिक समस्याको पहिचान बेलैमा हुनु पर्छ।"