
म बाटो हुँ—भद्रपुरको संगम चोकदेखि भानुचोक हुँदै जाने मेची राजमार्ग। धेरै वर्षको प्रतीक्षापछि बल्ल मेरो पालो आयो। ठेक्का लाग्यो, काम सुरु भयो… त्यो पनि आफ्नै गतिमा। अन्ततः कालोपत्रे भएँ। तर मेरो सतह हेर्दा कालोपत्रेभन्दा ग्राभेल नै राम्रो लाग्छ—गाडी गुड्दा मसँगै यात्रु पनि थरर काँप्छन्।
मलाई बनेको डेढ–दुई वर्ष नपुग्दै ठाउँ–ठाउँमा २×२ का खोपिल्टा पारिए। सुनेँ, गुणस्तर परीक्षणका लागि रे! मैले सोचेँ—परीक्षण सकिएपछि त मलाई पुरेर फेरि राम्री बनाइदेलान्। तर अहँ! खोपिल्टा जस्ताको तस्तै।
आज ती खोपिल्टा बढेर मेरो शरीर चिथोर्न थालेका छन्। भानुचोकको सालिक वरिपरि त मेरो हालत झन् दयनीय छ।
नगरपालिका भन्छ—“यो हाम्रो जिम्मेवारी होइन।”
ठेकेदार कहाँ छ, थाहा छैन। अनुगमन गर्ने निकाय सायद मलाई अझै “ठीकै छ” देखिरहेको छ।
म बाटो हुँ—मलाई जसले जे गरे पनि हुन्छ!
तर याद राख्नुहोस्, आजको सानो खोपिल्टा भोलिको ठूलो दुर्घटनाको कारण बन्न सक्छ।
मलाई दोष होइन, समयमै उपचार चाहिएको छ।

