
भद्रपुर १७ असोज / भद्रपुर माध्यमिक विद्यालय (मावि) को विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा उषा राजवंशी सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। विद्यालयमा हालै आयोजित अभिभावक तथा सरोकारवालाहरूको भेलाले आगामी ३ वर्षे कार्यकालका लागि उहाँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो।
नवनिर्वाचित व्यवस्थापन समितिका सदस्यहरूमा सादीलाल राजवंशी, प्रदीप माझी, सबीना श्रेष्ठ, सजनी हजाम र नूरबानू बेगम चयन हुनुभएको छ।
त्यस्तै, समितिको वडा प्रतिनिधिका रूपमा जेष्ठमल ठाकुर रहनुभएको छ भने शिक्षक प्रतिनिधिमा चैतन्य खरेल मनोनीत हुनुभएको छ। राजवंशी यस अघि भद्रपुर ५ कै पशुपति आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि रहिसक्नु भएको छ।
विद्यालयका प्रधानाध्यापक बासु निरौला समितिको सदस्य सचिव रहनुभएको छ।
भेलाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधार विकासमा नवनिर्वाचित समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
