ताजा समाचार लोड हुँदैछ...

भद्रपुरमा बालबालिकालाई लक्षित गरी क्रिकेट प्रशिक्षण सुरु: अङ्कित सुवेदीले दिँदैछन् तालिम

२०२६ अक्टोबर २•० पटक पढिएको

​भद्रपुर, १७ असोज। मेची क्रिकेट एकेडेमी भद्रपुरले युवा तथा बालबालिकाहरूलाई लक्षित गर्दै नियमित क्रिकेट प्रशिक्षण सुरु गरेको छ।

Featured

भद्रपुर, १७ असोज । मेची क्रिकेट एकेडेमी भद्रपुरले युवा तथा बालबालिकाहरूलाई लक्षित गर्दै नियमित क्रिकेट प्रशिक्षण सुरु गरेको छ। बालबालिकामा खेलप्रतिको रुचि बढाउन र जगैदेखि क्रिकेटको आधारभूत सीप विकास गर्ने उद्देश्यले गत भदौ १५ गतेदेखि यो प्रशिक्षण सुरु गरिएको हो।
​मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रशिक्षणमा हाल २५ जना बालबालिकाले निरन्तर सहभागिता जनाइरहेका छन्। प्रशिक्षणमा ८ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरू समावेश छन्।
​तालिममा कोशी प्रदेशका पूर्व कप्तान तथा झापा जिल्ला क्रिकेट टोलीका वर्तमान कप्तान अङ्कित सुवेदीले मुख्य प्रशिक्षकको भूमिका निभाउनुभएको छ। उहाँका अनुसार दैनिक बेलुकी ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने नेट प्राक्टिसका क्रममा खेलाडीहरूलाई ब्याटिङ, बलिङ तथा फिल्डिङका सूक्ष्म सीपहरू सिकाइँदै छ।
​"हामीले बालबालिकाहरूलाई सही तरिकाले ब्याट समात्ने (Grip) र अडिने (Stance) तरिकादेखि लिएर बलिङ मेसिन र बलरहरूको सामना गराएर वास्तविक खेलको अनुभव दिलाइरहेका छौँ," प्रशिक्षक सुवेदीले भन्नुभयो।
​यसका साथै, तालिममा हावामा आएको र भुइँमा गुडेको बल समात्ने (Catching), दगुर्दै गरेको बललाई नियन्त्रणमा लिने (Ground Fielding) तथा सही र सटीक रूपमा विकेटतर्फ बल फाल्ने (Direct Hit) जस्ता महत्त्वपूर्ण सीपहरू सिकाइने गरेको छ। खेलको प्राविधिक पक्षका साथै खेलाडीहरूको शारीरिक तथा मानसिक तन्दुरुस्ती र अनुशासनमा पनि विशेष ध्यान दिइएको छ।
​एकेडेमी तथा भद्रपुर क्रिकेट क्लबका अध्यक्ष एवं ८ नम्बर वडाका अध्यक्ष गौरव सुब्बा 'मनोज'ले सानै उमेरदेखि क्रिकेटको जग बलियो बनाउन र युवाहरूलाई कुलतबाट जोगाउँदै दक्ष एवं अनुशासनयुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यो तालिम सुरु गरिएको जानकारी दिनुभयो।

Article image
Article image

साझा गर्नुहोस्: