
भद्रपुर ९, असोज / गीतकार सत्यनारायण तायलद्वारा रचित गीत 'हाम्रो भद्रपुर' को विमोचन गरिएको छ। भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले स्थानीय एअरपोर्ट होटलमा आयोजित एक विशेष समारोहका बिच उक्त गीतको विमोचन गर्नुभएको हो।
सोही अवसरमा आयोजक बालज्योति प्रतिष्ठान इङ्गलिस स्कूल, भद्रपुर-९ ले उद्योगी, समाजसेवी तथा साहित्यिक स्रष्टाहरूलाई सम्मानसमेत गरेको छ।
सम्मानित हुनेहरूमा उद्योगी तथा समाजसेवी ओमप्रकाश सरावगी, प्राज्ञ हरि पौडेल तथा साहित्यिक स्रष्टाहरू टङ्क विकल्प, लीला अनमोल, विवश बलिभद्र कोइराला, अभागी येगुवा, केशव पौडेल, खगेन्द्रा खुशी र निरज पोखरेल रहनुभएको छ।
बालज्योति प्रतिष्ठान इङ्गलिस स्कूलका अध्यक्ष लवकुश गौतमको अध्यक्षतामा सम्पन्न उक्त 'हाम्रो भद्रपुर' गीत विमोचन तथा स्रष्टा सम्मान कार्यक्रममा पवित्रा ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो। कृति राई 'कला'ले सञ्चालन गर्नुभएको कार्यक्रममा कृष्ण सुवेदी 'निराकार'ले गीतकार तायलको परिचय गराउनुभएको थियो भने गीतकार तायलले आफूले रचना गरेको गीतका बारेमा चर्चा गर्नुभएको थियो।
साहित्यकार देवीचरण भण्डारीले मन्तव्यका साथै आफ्नो रचना प्रस्तुत गर्नु भएको सो कार्यक्रममा प्राज्ञ मुनाराज शेर्माले कला संगीतको योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो। समारोहमा विमोचित गीतको दृश्यावलोकनका साथै नृत्यसमेत प्रस्तुत गरिएको थियो।

