
भद्रपुर, ८ असोज / नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भद्रपुर नगर समितिको सभापति पदमा बन्धु कार्की र सचिव पदमा राजु गिरी विजयी हुनुभएको छ। बुधबार सहमति नजुटे पछि नगर सभापति र सचिव पदका लागि विहीवार भएको निर्वाचन परिणाम अनुसार नगर सभापतिमा बन्धु कार्कीले १२१ मत प्राप्त गर्दै विजयी हुनु भयो भने उहाँका निकटतम् प्रतिस्पर्धी मदन बस्नेतले १०७ मत प्राप्त गर्नुभयो।
निर्वाचन समितिका अनुसार सम्पन्न निर्वाचनमा जम्मा २३२ मत खसेको थियो। त्यसमध्ये चार मत बदर भएको थियो।
त्यस्तै, नगर सचिव पदमा विजयी हुनुभएका राजु गिरीले ११८ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिस्पर्धी टेक बहादुर पाण्डेले १०७ मत ल्याउनुभयो।
यसअघि हिजै अन्य विभिन्न पदहरूमा भने पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा निर्वाचित भइसकेका थिए।
सर्वसम्मत निर्वाचित हुनेहरूमा:नगर उपाध्यक्षद्वयमा मुना कन्दङबा र चिरञ्जीवी भट्टराई,सहसचिवमा मन्दिप राजवंशी हुनुहुन्छ।
त्यस्तै,सदस्यहरूमा धनकुमारी लोप्चन, संगीता शर्मा पाण्डे, धनकुमारी चेम्जोङ, बिमल राई, जयप्रकाश राजवंशी, विद्या प्रधान, मुकेश मित्रुका, करण तामाङ, नवीन गेलाल र प्रतीक शाह रौनियार बुधबार नै सर्वसम्मत निर्वाचित भइसक्नुभएको छ।
सभापति र सचिव पदको निर्वाचन परिणाम आएसँगै नेपाली कांग्रेस भद्रपुर नगर समितिले पूर्णता पाएको छ । अब कांग्रेसको क्षेत्रीय समिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचन असोज १३ गतेभित्रमा सक्नेगरीको तयारी छ। भद्रपुरले असोज १० गते निर्वाचन गर्ने कार्यतालिका बनाएको बुझिएको छ।