ताजा समाचार लोड हुँदैछ...

सन्दर्भ: राष्ट्रिय बाल दिवस भोटेकोशी नदीको त्यो कहालीलाग्दो बाढी: अढाइ वर्षे आयुष्मान र आमा उर्मिलाको बाँच्ने संघर्ष

२०२६ सेप्टेम्बर १५ पटक पढिएको

सन्दर्भ: राष्ट्रिय बाल दिवस भोटेकोशी नदीको त्यो कहालीलाग्दो बाढी: अढाइ वर्षे आयुष्मान र आमा उर्मिलाको बाँच्ने संघर्ष

Featured

तस्बिर : राहत सामग्री लिन आफ्नो २ वर्ष ६ महिनाको बच्चा आयुष्मानलाई काखमा लिएर रेडक्रस कार्यालय अगाडि बस्दै गरेकी आमा उर्मिला तामाङ।
हिजो मात्र अन्तराष्ट्रिय बाल दिवस मनाइएको छ। देशभर बालबालिकाको अधिकार, सुरक्षा र उज्यालो भविष्यका नारा गुञ्जिरहँदा, नुवाकोटको विदुर नगरपालिकामा भने एउटा मनै रुवाउने दृश्य देखियो। यो र यस्ता दृष्य वाढी प्रभावित क्षेत्रमा अझै धेरै होलान् यो एउटा प्रतिनिधि घटना मात्रै हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको भवन अगाडि राहत सामग्री लिन लामो लाइन थियो। त्यही लाइनमा भर्खर अढाई वर्षका अबोध बालक आयुष्मान तामाङलाई काखमा च्यापेर टोलाइरहेकी थिइन्, आमा उर्मिला तामाङ।
यी अबोध बालक आयुष्मानलाई बाल दिवसको उत्सव र रौनकसँग कुनै सरोकार छैन, किनकि उनको बालापन सुरु हुन नपाउँदै दैवले सर्वस्व लुटेर लगिसकेको छ।

भूकम्पको घाउ निको नहुँदै बाढीको बज्रपात
उर्मिलाको परिवार मूल रूपमा रसुवाको स्थायी बासिन्दा हो। १० वर्षअघि विनासकारी भूकम्पले घरबास उजाडेपछि उनीहरू विस्थापित भएर सुरक्षित स्थानको खोजीमा नुवाकोटको बेत्रावती (विदुर नगरपालिका) झरेका थिए। सहरको नजिकै जग्गा किनेर तीन दाजुभाइका १३ जनाको ठूलो र खुसी परिवार एउटै घरमा बस्दै आएका थिए।
भूकम्पले दिएको चोट बिस्तारै बिर्सिँदै गर्दा गत भदौ १० गते राति भोटेकोशी नदीमा आएको भीषण र आकस्मिक बाढीले उनीहरूको खुसी क्षणभरमै सखाप पारिदियो।

त्यो कहालीलाग्दो रातको कारुणिक कथा
"रसुवाबाट काकी आमाले फोन गरेर बाढी आउँदैछ भनेर सचेत गराउनुभयो," आँखाभरि आँसु पार्दै उर्मिलाले त्यो रातको दर्दनाक कथा सुनाइन्, "फोन आउनासाथ हतार-हतार बच्चालाई त टिपें र घरबाट भागें। तर बुढाबुढी भइसकेका सासू-ससुरा (बुवा-आमा) लाई घर बाहिर निकाल्नै सकिएन।"
उनी अगाडि भन्छिन्, "बच्चालाई च्यापेर नदीको किनारै किनार उकालोतिर भाग्दै थिएँ, बाढीसँगै बगेर आएको ठूलो भेल सहितको लेदोले मलाई हिर्कायो। त्यसपछि म र मेरो बच्चा दुवैलाई नदीले बगायो।" भाग्यवश, उर्मिला र उनका अढाई वर्षका छोरा आयुष्मानलाई त जीवितै उद्धार गरियो, तर उनको परिवारका अन्य ८ जना सदस्यलाई खोलाले सदाका लागि बगाएर लग्यो।
उर्मिलाका अनुसार बाढीमा परेर घरमा रहेका वृद्ध सासू-ससुरा, ज्याला मजदुरी गर्न गएका ३ जना, गाडीमा काम गर्ने २ जना र स्कुल पढ्दै गरेको १ जना बच्चा गरी परिवारका ८ जनाको ज्यान गयो। अहिले त उनीहरूलाई दागबत्ती दिने र काजकिरिया गर्ने मान्छेसमेत कोही बाँकी छैनन्। बाढीले घर र जग्गाजमिन सबै बगाएर बगर बनाइदिएको छ।

होल्डिङ सेन्टरको बास र भविष्यको चिन्ता
सर्वस्व गुमाएपछि हाल उर्मिला र उनको छोरालाई नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको विदुर नगरपालिका वडा नं. ५ मा रहेको क्रियापुत्री बस्ने भवन (होल्डिङ सेन्टर) मा राखिएको छ।
रेडक्रसको प्राङ्गणमा राहत सामग्री बुझ्दै गर्दा उर्मिलाको मनमा राहतको खुसी भन्दा बढी भविष्यको अन्धकारले पिरोलिरहेको थियो। टोलाएका आँखाले आफ्नो काखको अबोध आयुष्मानलाई हेर्दै उनले भनिन्, "घरबास त बाढीले लग्यो, अब कहाँ जाने होला? कसरी यो बालकको संरक्षण गर्ने होला? यसलाई कसरी पढाउने, कसरी ठूलो मान्छे बनाउने होला?"
राष्ट्रिय बाल दिवस मनाइरहँदा आयुष्मान जस्ता प्राकृतिक विपत्तिबाट प्रभावित, घरबारविहीन र अभिभावक गुमाएका बालबालिकाको सुरक्षा, शिक्षा र पुनःस्थापनाका लागि राज्य र सरोकारवाला निकायले जिम्मा लेला त ? यो प्रश्न उर्मिलाको आँसुसँगै अनुत्तरित बनेर उभिएको छ।

केदार महत -झापा
नेपाल रेडक्रस सोसाईटीबाट
वाढी प्रभावित क्षेत्र नुवाकोटमा कार्यरत

साझा गर्नुहोस्: