ताजा समाचार लोड हुँदैछ...

भद्रपुर नाका राति ९ बजेसम्म सञ्चालन गर्न उद्योगी–व्यवसायीको माग

२०२६ सेप्टेम्बर ११ पटक पढिएको

भद्रपुर नाका राति ९ बजेसम्म सञ्चालन गर्न उद्योगी–व्यवसायीको माग भद्रपुर। नेपाल–भारत सीमावर्ती आवागमनलाई सहज बनाउन भद्रपुर नाका राति ९ बजेसम्म सञ्चालन गर्नुपर्ने माग उठेको छ।

Featured

भद्रपुर २६,भदौ / नेपाल–भारत सीमावर्ती आवागमनलाई सहज बनाउन भद्रपुर नाका राति ९ बजेसम्म सञ्चालन गर्नुपर्ने माग उठेको छ। नेपाल भारत मैत्री संघ झापा र झापा उद्योग संघले सीमावर्ती क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्न माग गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष ज्ञापन पत्र बुझाएका हुन्।
नेपाल भारत मैत्री संघका अध्यक्ष प्रदीपमणि रेग्मी र झापा उद्योग संघका अध्यक्ष शिवकुमार गुप्तासहितको टोलीले आज प्रमुख जिल्ला अधिकारी पोखरेललाई विज्ञप्ति बुझाउँदै भद्रपुर नाकाबाट हुने नेपाली तथा भारतीय नागरिकको आवागमन सहज बनाउन आवश्यक व्यवस्था गर्न माग गरेको हो।
संघहरूले विशेषगरी भद्रपुर नाका बेलुका ८ बजे नै बन्द हुँदा भारतका विभिन्न बजारबाट फर्कने नेपाली यात्रु तथा व्यवसायीलाई समस्या भइरहेको भन्दै नाका सञ्चालनको समय बढाउन माग गरेका छन्। काकरभिट्टा नाका राति १०ः३० बजेसम्म खुला रहने अवस्थामा भद्रपुर नाका भने बेलुका ८ बजे नै बन्द हुने गरेको भन्दै यसलाई कम्तीमा राति ९ बजेसम्म सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ।
त्यस्तै, भारतीय सवारीसाधनलाई भद्रपुर बजारसम्म मात्र होइन, आवश्यकताअनुसार विमानस्थलसम्म आउन सक्ने व्यवस्था मिलाउन समेत माग गरिएको छ। नेपाल–भारत सन्धिअनुसार नेपाली सवारीसाधनलाई नजिकको भारतीय बजारसम्म र भारतीय सवारीसाधनलाई नजिकको नेपाली बजार तथा विमानस्थलसम्म आवागमन गर्न पाउने व्यवस्था रहेको उल्लेख गर्दै त्यसको व्यवहारिक कार्यान्वयनमा जोड दिइएको छ।
ज्ञापन पत्रमा भद्रपुर नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकलाई भद्रपुर भ्रमणका लागि सहज वातावरण बनाउनुपर्ने मागसमेत गरिएको छ। सीमावर्ती क्षेत्रमा व्यापार तथा पर्यटन प्रवर्द्धनका लागि दुई देशका नागरिकको आवागमन सहज हुनु आवश्यक रहेको संघहरूको भनाइ छ।
नेपाल भारत मैत्री संघले सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका नाममा सर्वसाधारणको आवागमनमा अनावश्यक असहजता सिर्जना हुन नदिन सम्बन्धित निकायबीच समन्वय र सहजीकरण आवश्यक रहेको जनाएको छ।
संघले काकरभिट्टा र विराटनगरजस्ता नाकाबाट भारतीय सवारीसाधनको आवागमनमा समस्या नरहेको उल्लेख गर्दै भद्रपुर नाकामा पनि समान र सहज व्यवस्था लागू गर्न प्रशासनको ध्यानाकर्षण गराएको छ।
ज्ञापन पत्र बुझाउने टोलीमा नेपाल भारत मैत्री संघका अध्यक्ष प्रदीपमणि रेग्मी, उपाध्यक्ष शिवकुमार राजभण्डारी र महासचिव शर्मिला अधिकारी तथा झापा उद्योग संघका अध्यक्ष शिवकुमार गुप्ता, निवर्तमान अध्यक्ष यमबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष टीकाराज ढकाल, वरिष्ठ उपाध्यक्ष दिपेश ढकाल र उपाध्यक्ष बिनय गोयल सहभागी हुनुहुन्थ्यो।
सीमा नाका सहज भए व्यापार, पर्यटन र दुई देशबीचको जनस्तरको सम्बन्ध थप मजबुत हुने भएकाले तत्काल आवश्यक पहल गर्न संघहरूले प्रशासनसमक्ष आग्रह गरेका छन्।

साझा गर्नुहोस्: