
भद्रपुर २६, भदौ / भद्रपुर नगरपालिका वडा नम्बर ३ ले कुशे औंशी अर्थात् बाबुको मुख हेर्ने दिनको अवसर पारेर वडा भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। जेष्ठ नागरिक समिति भद्रपुरका अध्यक्ष हेमप्रसाद खनालको प्रमुख आतिथ्य र तीन नम्बर वडा अध्यक्ष हेमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा १२० जना आमाबुवालाई मिष्ठान्न भोजन सहित प्रत्येकलाई एक/एकवटा छाता, खादा र फूलका गुच्छा दिएर सम्मान गरिएको थियो।
वडा कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि खनाल, विशिष्ट अतिथि झापा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष तथा राप्रपा भद्रपुर नगर समितिका अध्यक्ष राजकुमार राई, वडाका जेष्ठ नागरिक समितिका उपाध्यक्ष पदम प्रसाद अधिकारी , लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। वडा सदस्य भूवा कुमारी पुलामी मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन वडा सचिव खिलकुमार राईले गर्नुभएको थियो। वडाका जेष्ठ नागरिकहरूलाई प्रत्येक वर्ष अवलोकन भ्रमण गराउँदै आएको वडा नम्बर ३ ले यस वर्ष जेष्ठ नागरिकहरूलाई सम्मान गर्ने थप विशिष्ट कार्यक्रम अगाडि सारेको प्रति स्थानीय समुदाय हर्षित देखिन्थे। कार्यक्रमका विशिष्ट अतिथि झापा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष तथा राप्रपा भद्रपुर नगर समितिका अध्यक्ष राजकुमार राई, वडाध्यक्ष कार्की र वडा सदस्यहरूको निजी लगानीमा सो कार्यक्रम आयोजना गरिएको त्यहाँ जानकारी दिइएको थियो।
