
भद्रपुर २५, भदौ / मेची आँखा अस्पताल बिर्तामोड-३, सैनिकमोडको शाखाको रुपमा स्थापना गरिएको भद्रपुर आँखा उपचार केन्द्रको नयाँ भवन आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले OPD, OT तथा IPD सहितको नयाँ भवनको समुद्घाटन गर्नुभएको हो।

मेची आँखा अस्पताल बिर्तामोडका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाता परिवारका तर्फबाट गोविन्दराम सरिया, अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशी, भद्रपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बन्धु कार्की, नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदिपमणि रेग्मी, पत्रकार चिन्तामणि दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा मेची आँखा अस्पतालका पूर्व अध्यक्ष तथा भद्रपुर आँखा उपचार केन्द्र निर्माण समितिका संयोजक छत्र अधिकारीले भद्रपुरमा लगभग ४ करोड रुपैयाँ बराबरको लागतमा आँखा उपचार केन्द्रको भवन निर्माण भएको जानकारी दिनुभयो। कार्यक्रममा आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य सुरेश वंशलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सुरज खत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
यस आँखा उपचार केन्द्रका लागि स्वर्गीय जयनारायण सरियाको एक बिघा जग्गा उहाँका भाइ सत्य नारायण सरियाको परिवारको तर्फबाट प्राप्त भएको हो। सरिया परिवारका तर्फबाट गोविन्द सरियाले भवन निर्माणका लागि अन्य भौतिक सामग्रीमा समेत निरन्तर सहयोग गर्दै आउनुभएको बताइएको छ।
यसैबीच, नयाँ भवन उद्घाटनको अवसरमा केन्द्रमा अहिले तीन दिने निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ। भदौ २३ गतेबाट सुरु भएको शिविर आजसम्म सञ्चालन रहने र हालसम्म ५ सय भन्दा बढीको आँखा परीक्षण गरिसकिएको अस्पतालले जनाएको छ।