ताजा समाचार लोड हुँदैछ...

प्रादेशिक अस्पताल भद्रपुरमा नर्सिं‌‌ङ पढाइको तयारी

२०२६ अगस्ट २६ पटक पढिएको

भद्रपुर, १० भदौ। झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रमाणपत्र तहको नर्सिङ कलेज सञ्चालनको तयारी अघि बढाइएको छ।

Featured

भद्रपुर, १० भदौ । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रमाणपत्र तहको नर्सिङ कलेज सञ्चालनको तयारी अघि बढाइएको छ । आवश्यक भौतिक पूर्वाधार र जनशक्ति उपलब्ध रहेको भन्दै अस्पतालले आगामी शैक्षिक वर्षदेखि कक्षा सञ्चालन गर्ने लक्ष्यसहित सम्बन्धनको प्रक्रिया अघि बढाएको हो ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले गत भदौ ५ गते नर्सिङ कलेज सञ्चालन गर्ने निर्णय गरेको थियो । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले समेत कार्यक्रम सञ्चालनका लागि सिफारिस गरिसकेको अस्पतालले जनाएको छ ।
कलेजका लागि अस्पतालको नयाँ भवनबाट सेवा सुरु भएपछि खाली रहेको पुरानो भवन प्रयोग गर्ने तयारी छ । भवनमा १४ वटा कोठा, चार प्रयोगशाला र पुस्तकालय छन् भने होस्टल निर्माणको योजना पनि अघि सारिएको छ ।
अस्पतालमा एक सय २४ भन्दा बढी शय्या र ९० जना नर्सिङ जनशक्ति रहेकामा कलेजका लागि १३ जना नर्सिङ जनशक्ति छुट्याइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सिटिइभिटीले निर्धारण गरेको कोटाअनुसार विद्यार्थी भर्ना गर्ने अस्पतालको योजना छ ।
नर्सिङ अधिकृत सुजता पौडेलले सरकारी अस्पतालमै नर्सिङ शिक्षा सञ्चालन हुँदा पूर्वी नेपालका विद्यार्थीलाई सहज हुने बताउनुभयो । उहाँका अनुसार यसबाट निजी संस्थामा महँगो शुल्क तिरेर अध्ययन गर्नुपर्ने बाध्यता कम हुनुका साथै आवश्यक नर्सिङ जनशक्ति उत्पादन र जनशक्ति पलायन रोक्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कलेज सञ्चालनका लागि सिटिइभिटीको प्रक्रिया अघि बढाउन अस्पतालको टोलीले गत साउन २१ गते शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग भेट गरी पूर्वाधार तयारीको अनुमति र स्थलगत निरीक्षणका लागि आग्रह गरेको थियो । सिटिइभिटीको उपाध्यक्ष नियुक्तिपछि बोर्ड बैठकमार्फत प्रस्ताव अघि बढाउने विषयमा छलफल भएको अस्पतालले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले पनि सम्बन्धित मन्त्रीहरूसँग छलफल गरी आवश्यक सरकारी निर्णयका लागि सहजीकरण गरिरहनुभएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले पुरानो भवनमै कक्षाकोठा लगायत आवश्यक संरचना व्यवस्थापन गर्न सकिने बताउनुभयो । प्रक्रिया पूरा भए आगामी शैक्षिक वर्षदेखि भद्रपुर प्रादेशिक अस्पतालमै प्रमाणपत्र तहको नर्सिङ अध्ययन सुरु हुने अस्पतालको अपेक्षा छ ।साभार:रेडियो भिजन।

साझा गर्नुहोस्: