
भद्रपुर ४,जेठ / अपाङ्गता भएकाहरूलाई एउटा छुट्टै अवसरको माहोलका वीच फरक क्षमताका मानिसहरूमा लुकेको प्रतिभा प्रस्फुटन गर्ने कार्य भद्रपुरमा गरिएको छ। राजधानी वा विशेषगरी बाह्य मुलुकमा देखिने यस्ता खाले दृश्य भद्रपुर ४ स्थित नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको परिसरमा ४ गते सोमबार देख्न पाइएको हो।
भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फरक क्षमता भएकाहरूले आफ्नो प्रतिभाको प्रस्तुति गरेर खुसियाली साटे। उनीहरूले नाचे गाए मात्रै होइन आफूहरूसँग भएको प्रतिभा प्रस्तुति गरेर देखाए।
यो अवसर भने भद्रपुर नगरपालिकासँगको सहकार्यमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, करुणा फाउन्डेसन नेपाल, राष्ट्रिय अपाङ्ग महासङ्घ र भद्रपुर सहयात्री संस्थाले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान प्रस्फुटन कार्यक्रमको आयोजना गरेर जुटाइदिएको हाे । भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखाकी पूजा श्रेष्ठले गर्नुभएको थियो भने द्रोण निरौलाले स्वागत मन्तव्य राख्नुभएको थियो।भद्रपुर नगरपालिका सामाजिक विकास शाखाको सहजीकरणमा भएको कार्यक्रममा कोही त्यहाँ नाच्दै रमाए, कसैले गाए र कसैले बाद्यबादन प्रस्तुत गरे। सानो पाँच वर्षीय बालकको बाद्यवादन कलादेखि खुट्टाको औंलाले कलम समाएर लेख्ने कला भएका प्रतिभाशाली क्षमता बोकेकाहरुको प्रस्तुतिले सहभागीहरूलाई भावुक बनाएको थियो।
कार्यक्रममा फरक क्षमता भएकाहरूबीच ह्वील चेयर दौड, चेस (बुध्दिचाल) खेल प्रतियोगिता, लेखन क्षमताको प्रतियोगिताका साथै सांगीतिक भाषा तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो।