
भद्रपुर ३,भदौ / विश्व मानवता दिवसको अवसरमा नेपाल परिवार नियोजन संघ झापा शाखाले आज भद्रपुरमा एक कार्यक्रम सम्पन्न गरेको छ।
भद्रपुर-८ स्थित होटल उडल्याण्डमा आयोजित कार्यक्रममा सार्थक जीवनकाे लागि मानवीय सेवा र मानव सेवामा योगदान पुर्याउने संघ संस्था बारेमा चर्चा गरिएको थियो।
शाखा प्रमुख कमल सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल रहनुभएको थियो। कार्यक्रममा हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी मैनाली, गौरादह नगरपालिकाकी उपाध्यक्ष जलवर्षा राजवंशी र नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य चन्द्रमाया श्रेष्ठ विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको अध्यक्षता नेपाल परिवार नियोजन संघ झापाका सभापति तोयानाथ गड्तौलाले गर्नुभएको थियो भने सदस्य बिमला गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा कोशी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढीका तर्फबाट शुभेन्द्रकुमार कर्ण र आयोजक संस्थाका तर्फबाट शाखा प्रमुख कमल सुवेदीले मानवताको लागि संस्थाले गरेका कार्यहरुका बारेमा पावरपोइन्ट प्रस्तुति गर्नुभएको थियो।
उद्घाटन सत्रमा प्रमुख अतिथि पोखरेल सहित उपाध्यक्ष मैनाली, केन्द्रीय सदस्य श्रेष्ठ लगायतले मानवता, सेवा र विपद्को बेलामा मानवीय सहयोगको महत्वका बारेमा मन्तव्य राख्नुभएको थियो।
विश्व मानवता दिवस हरेक वर्ष अगस्ट १९ मा विश्वभर मनाइने गरिन्छ।

