ताजा समाचार लोड हुँदैछ...

पत्रकारितामा एउटा पेचिलो प्रश्न ! को अग्रज ,को वरिष्ठ ? खुट्याउनै गाह्रो

२०२६ मे २ पटक पढिएको

पत्रकारितामा एउटा पेचिलो प्रश्न ! को अग्रज ,को वरिष्ठ ? खुट्याउनै गाह्रो सम्बन्धी विस्तृत समाचार।

Featured

अग्रज कसलाई भन्ने, वरिष्ठ कसलाई भन्ने? सञ्चारकर्मी को हो, पत्रकार कोहो र कसलाई भन्ने ? द्विविधाले नेपाली पत्रकारिता गुज्रिरहेको छ।पत्रिका आफै अल्मलिएका छन् भने अरूलाई के भन्ने? हुन त पत्रिकामा लेख्ने तिनै पत्रकार गर्नेहरू हुन्, तिनबाट के पो आशा गर्नु र ?

कार्यक्रमहरुमा गयो पत्रकार गर्नेहरूलाई सञ्चालकले वरिष्ठ पत्रकारको पगरी भिराएर आशन ग्रहण गराउँछन्। रेडियो र पत्र-पत्रिकामा उनैहरुको नाम अग्रज वा वरिष्ठ भनेर पढिन्छ, छापिन्छ। भ्रम भो जताततै।

उहाँसँगको भेटमा संचार माध्यमहरूले (विशेष गरेर एफएम. रेडियोहरुले) भाषा, शैली र व्याकरण बिगारेकोदेखि लिएर पत्रकार गर्नेहरूको भूमिकाले पत्रकारितामाथि नै प्रश्न उब्जाएकोमा चिन्ता थियो। एउटा गुरु पत्रकारले यस्तो चिन्ता गर्नु स्वभाविक पनि थियो।

कार्यक्रमहरूमा जाने पत्रकारहरूको बथान भेटिन्छ। कुन पत्रिकामा कसले, के लेख्छ, कसको, कुन अनलाइन हो वा सञ्चार माध्यम हो , फोटो खिचेर कुन ठाउँमा राख्छन् ,हाल्छन्, केही थाहा हुँदैन। जो निरन्तर फिल्डमा छ ,उ चाहिँ त्यहाँ पुगेर निरीह हुन्छ। भनौँ आजकाल त पेशाप्रति निष्ठावान इमान्दार पत्रकारहरू त्यस्ता कार्यक्रमहरूमा निम्त्याइँदैनन् , पुग्दैनन् वा खबर पाएर पनि जान अप्ठ्यारो मान्छन्। यस्तोमा को अग्रज , को वरिष्ठ ? कसले छुट्याउने ?

नेपाली शब्दकोशमा अग्रजको अर्थ: (१)अगाडि जन्मेको व्यक्ति (२)दाजु र वरिष्ठको अर्थ:(१)अति ठुलो; उच्च कोटिको (२) सबैभन्दा उत्तम,सर्वोत्तम, श्रेष्ठतम लेखिएको छ।
त्यस्तै पत्रकार भन्नाले समाचार, लेख रचना आदिको सङ्कलन, सम्पादन तथा प्रकाशन गर्ने व्यक्ति;पत्र पत्रिकाको काम गर्ने व्यक्ति र सञ्चारकर्मीको अर्थ: रेडियो, टेलिभिजन, पत्रपत्रिका आदि आम सञ्चारका माध्यमबाट समाचार आदि सञ्चारण तथा प्रसारणको काम गर्ने व्यक्ति; पत्रकार।
हामी सञ्चारकर्मी हौं कि पत्रकार हौं या सञ्चार कर्म गरेर पत्रकार भएका हौं अथवा पत्रकार र सञ्चारकर्मीको भेद के हो ? नेपाली शब्दकोशले यी दुईवटा शब्दको प्रष्ट भेद खुलाएको जस्तो मलाई चाहिँ लागेन । के चाहिँ बुझे भने पत्रकार भनेर पत्रपत्रिकामा मात्रै सीमित र सञ्चारकर्मी भनेर अलिक बृहत क्षेत्रलाई समेटेर आम सञ्चारलाई समेटेको सम्म हुनसक्छ तर, कर्म भने एउटै ढंगले प्रस्तुत गरिएको छ। यी दुई शब्दको गम्भीर भेद मेरो अल्पज्ञानले खुट्याउन सकेन। जानकारहरूबाट बुझिने गरी यस विषयमा स्पष्ट र तर्कपूर्ण परिभाषा,व्याख्या र अर्थ आउने अपेक्षा गरेको छु।
यहाँ उठान भएका अन्य दुई शब्द ”अग्रज’ र ‘ वरिष्ठ ‘ विषयमा नेपाली शब्दकोशमा स्पष्ट र बुझिने गरी लेखिएको छ। पत्रकारिता वा सञ्चार कर्म गर्नेहरूलाई शब्दकोशको अर्थ खोजेरै लेख्ने हो भने अग्रज वा वरिष्ठ दुवै लेख्दा उपयुक्त नहुनसक्छ। अग्रजले बुझाउने अर्थ अनुसार अगाडि जन्मेको व्यक्ति पत्रकार वा दाजु पत्रकार हो, त्यसो हुन समाचार लेखिरहने वा पढिरहने मान्छे भन्दा त्यो व्यक्ति , जसको बारेमा हामीले लेखेका छौं वा पढेका छौं, त्यो व्यक्ति जेठो हुनुपर्ने हुन्छ। तर हामीहरु समाचार लेखिरहँदा कसलाई अग्रज लेखिरहेका छौं त ? जेठोलाई मात्रै अग्रज भनेर लेखिरहेका छौं त ! सवाल यहाँ नेर छ।
त्यस्तै वरिष्ठ शब्दको अर्थ:(१)अति ठुलो; उच्च कोटिको (२) सबैभन्दा उत्तम,सर्वोत्तम, श्रेष्ठतम लेखिएको छ- नेपाली शब्दकोशमा। आधिकारिक हिसाबले पत्रकार वा सञ्चारकर्मीलाई वरिष्ठ भन्ने गरी औपचारिक विभाजन गरिएको छैन , जस्तो: न्यायिक क्षेत्रमा छ। होइन, हामी सम्मानका लागि मात्रै वरिष्ठ लेख्छौ भनेर कसैले भन्छ भने वरिष्ठ हुने औकात र हैसियतको आधार केलाई मान्ने ? यति वर्ष पत्रकारिता गरे पछि वरिष्ठ भइने कि, यो-यो काम गरेकाले उनीहरू वरिष्ठ भए कि ? अथवा वरिष्ठको पगरी कसले , कसरी र के-के आधारमा गुथाउने हो ? यो प्रश्न पेचिलो छ।

आदरणीय नकुल काजी दाइले छ दशक बढी समय कागज र कलमसँग खेल्दै जीवन निर्वाह गरिरहनु भएको छ। उहाँ अहिले प्रादेशिक अस्पताल भद्रपुरमा हर्नियाको अप्रेसन पश्चात् स्वास्थ्य लाभ गरिरहनुभएको छ ।

शब्दहरू खेलाउने र उपयुक्त शब्द चयन गरेर लेखनलाई जीवन्त बनाउने क्षमता भएका उम्दा केही पत्रकारहरूको तुलना गर्दा पनि अरुको तुलनामा उहाँ अग्रणी हुनुहुन्छ। बिरामी अवस्थाका आदरणीय नकुल दाईसँग आज बिहान प्रादेशिक अस्पतालको सर्जिकल वार्डमा भेट्दा पत्रकारिताका यिनै र यस्तै विषयहरुमा गम्भीर छलफल भएको थियो।

पत्रकारिताको एउटा जीवन्त इतिहास बोकेका नकुल काजीले गरिरहेको चिन्ता ज्वलन्त भएपनि यसलाई सुधार्न भने सहज छैन। हुटीट्याउले सगर नथाम्ने अवस्था जस्तै भएको छ। दाइ, तपाईँलाई जसरी विभिन्न रोगहरू थाइराइड, प्रोस्टेट,मुटु रोग आदिले सताएको छ। त्यसैगरी, नेपाली पत्रकारितालाई पनि विभिन्न रोगले सताएको- समाएको छ, तपाईँको हर्नियालाई जस्तै च्वाट्टै निकालेर फाल्ने कुशल चिकित्सकको खाँचो छ, नेपाली पत्रकारितालाई सुधार्न पनि।

कुशल पत्रकार आदरणीय नकुल दाई ! तपाईंको चिन्तासँग म पूर्ण सहमत छु। यो बिरामी अवस्थामा पनि पत्रकारिताको विग्रहप्रति तपाईँले जाहेर गरेको चिन्ताबाट म अझ गम्भीर भएको छु। दोस्रो पुस्ताका हामी केही पत्रकारहरुलाई पनि तपाईँकै जस्तै चिन्ताले सताउँदै ल्याएको छ। सुधार्नुपर्छ र सुध्रिनुपर्छ भन्ने मान्यता म पनि राख्दछु।

तर, अहिले भने पत्रकारिताको चिन्ताभन्दा पनि झापाली पत्रकारिताको एउटा जीवन्त इतिहास कुशल गुरु पत्रकार तपाईंको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। बिरामी अवस्थामा पनि समुन्नत पत्रकारिताको चिन्ताप्रति सलाम ! अन्त्यमा, पत्रकारितामा आइरहेको विशृङ्खलतालाई सुधार्नको निमित्त निरन्तर सुझाव पाउने अपेक्षासहित फेरि पनि पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु। धन्यवाद!

साझा गर्नुहोस्: