
भद्रपुर ११,साउन / भद्रपुर क्रिकेट क्लबका नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गरिएको छ। हिजो भद्रपुरमा आयोजित एक शानदार कार्यक्रमका बीच नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन गरिएको हो। आगामी दुई वर्षे कार्यकालका लागि गत शुक्रबार (८ साउन) तोकिएको निर्वाचनमा सर्वसम्मतिबाट १९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएसँगै १० गते आइतबार पदस्थापन सम्पन्न भएको हो ।
मुख्य निर्वाचन अधिकृत गोपाल गिरीले कार्यसमितिको नाम घोषणा गरेर शपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरेसँगै निवर्तमान अध्यक्ष आदित्य पराजुलीले नवनिर्वाचित अध्यक्ष गौरव सुब्बा मनोजलाई माइन्यूट हस्तान्तरण गर्नुभएको थियो।
स्थापनाको छोटो समयमै क्रिकेटका दुई ठूला प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको झापाको भद्रपुर क्रिकेट क्लब (बीसीसी)को अध्यक्षमा गौरव सुब्बा ‘मनोज’ निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत गिरीका अनुसार, वरिष्ठ उपाध्यक्षमा नितेश वर्मा, उपाध्यक्षद्वय वसन्त पोखरेल र कविन राई, महासचिवमा राजन भट्टराई, सचिवमा केदार महत, कोषाध्यक्षमा पवन घिमिरे निर्वाचित हुँदा सदस्यहरूमा( तोयानाथ गड्तौला, अभिषेक ढुंगाना, अजयकुमार साहेवाला, अंकित सुवेदी, विशाल राई, असिम घिमिरे, विक्की जैसवाल, सुदर्शन महर्जन, अमित शर्मा, राजेशप्रसाद गुप्ता, पोषराज पौडेल र शेखर खड्का चयन भएका छन् ।
अध्यक्ष निर्वाचित सुब्बा भद्रपुर नगरपालिकाका ८ नं. वडाध्यक्षसमेत हुनु हुन्छ ।
भद्रपुरका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य तथा उपप्रमुख राधा कार्की , प्रजिअ शिवराम गेलाल एवं झापा जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्का विशिष्ट अतिथि रही चन्द्रगढीस्थित एयरपोर्ट होटलको प्रेक्षालयमा सम्पन्न पदस्थापन समारोहमै निवर्तमान अध्यक्ष आदित्य पराजुली र क्लबकै सदस्य तोयानाथ गड्तौलालाई ढाकाटोपी, दोसल्ला, बुकी सहित सम्मान अर्पण गरिएको थियो ।
पराजुली राष्ट्रिय चिया तथा कफी विकास बोर्डको उपाध्यक्ष नियुक्त हुनुभएको र गड्तौलालाई नेपाल परिवार नियोजन सङ्घ झापाको सभापतिमा निर्वाचित भएकोमा सम्मान गरिएको हो।
पदस्थापन एवम् सम्मान कार्यक्रम निवर्तमान महासचिव बसन्त पोखरेल र सचिव केदार महतले सहजीकरण गर्नुभएको थियो ।
