
भद्रपुर १,साउन / नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा शाखाको संयोजनमा भद्रपुरमा सञ्चालित अपाङ्गता पुनर्स्थापना केन्द्रमा आज अर्को भवनको उद्घाटन गरिएको छ। भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्नुभएको हो।
उद्घाटन भएको नवनिर्मित पुनर्स्थापना केन्द्रमा अपाङ्गता भएका आश्रित महिलाहरूलाई राखिने पुनर्स्थापना केन्द्रका परियोजना प्रमुख केदार महतले जानकारी दिनुभयो। पुनर्स्थापना केन्द्रमा हाल १८ जना आश्रित छन् ।महिलाहरूका लागि निर्माण व्यवस्थापन गरिएको सो पुनर्स्थापन केन्द्रमा नगरप्रमुख र उपप्रमुखले ह्वीलचेयरमा दुई जना आश्रित अपाङ्गता भएकाहरूलाई स्थान्तरण गर्न सहजीकरण गर्नुभएको थियो।
निर्माण समितिका अध्यक्ष तथा सहयात्री संस्थाका अध्यक्ष धनजुजु श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख पोखरेल, उपप्रमुख कार्की र ४ नम्बर वडाध्यक्ष हंशधर राजवंशी सहित अपाङ्ग संघका पूर्व केन्द्रीय कोषाध्यक्ष बालध्वज कार्कीले मन्तव्य राख्नुभएको थियो।
यसअघि प्रमुख पोखरेल र उपप्रमुख कार्कीले भद्रपुर अपाङ्गता बहुउद्देश्य सहकारी संस्था लिमिटेड र भद्रपुर सहयात्री संस्थाको उद्घाटन गर्नुभएको थियो।
अपाङ्गता पुनर्स्थापन केन्द्रलाई झापा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष राजकुमार राईले एक थान आधुनिक बेड पनि उपलब्ध गराएको परियोजना प्रमुख महतले जानकारी दिनुभयो।
सोही कार्यक्रमका बीच भद्रपुर नगरपालिकाले विपद व्यवस्थापन कार्यक्रम अन्तर्गत भद्रपुर १० निवासी अपाङ्गता भएका रामेश्वर शाह र अर्का एक परिवारलाई हावाहुरीले क्षति पुर्याएको घरको मर्मतका लागि दुई बण्डल जस्ता पाता (टिन) हस्तान्तरण गरेको थियो।