
नेपाल परिवार नियोजन सङ्घ झापाको ४८ औँ शाखा सभा सम्पन्न: सभापति तोयानाथ गड्तौलाद्वारा पदस्थापन
भद्रपुर ३२, असार / नेपाल परिवार नियोजन सङ्घ झापा शाखाको ४८ औँ शाखा सभा, पद हस्तान्तरण तथा सम्मान कार्यक्रम आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ।
पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले पारिवारिक स्वास्थ्य र व्यवस्थित परिवारको क्षेत्रमा परिवार नियोजन सङ्घले योगदान पुर्याएको चर्चा गर्नुभयो। कार्यक्रममा परिवार नियोजन सङ्घका केन्द्रीय सदस्य चन्द्रमाया श्रेष्ठले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो।
शाखाका सचिव राजेन्द्र भट्टराईले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन सङ्घका सदस्य सुवास भट्टराईले गर्नुभएको थियो।
सभामा निवर्तमान सभापति लोकनाथ भट्टराईले आफ्नो कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने नवनिर्वाचित सभापति तोयानाथ गड्तौलालाई पदस्थापन गरिएको थियो।
निर्वाचन समितिका संयोजक अधिवक्ता खगेन्द्र खरेलले नयाँ कार्यसमितिको निर्वाचन परिणाम घोषणा गर्नुभयो। घोषित परिणाम अनुसार शाखाको नयाँ सभापतिमा तोयानाथ गड्तौला र कोषाध्यक्षमा झुमा शिवाकोटी दाहाल निर्वाचित हुनुभएको छ। नवनिर्वाचित सभापति र कोषाध्यक्ष दुवैलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको थियो।
निवर्तमान अध्यक्ष लोकनाथ भट्टराईले सङ्घका कर्मचारी, कार्यसमितिका पदाधिकारी तथा अतिथिहरूलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएको कार्यक्रममा पदस्थापन लगत्तै नवनिर्वाचित अध्यक्ष तोयानाथ गड्तौलाले आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै झापा शाखालाई अझ उत्कृष्ट र सेवामुखी बनाउने दृढता व्यक्त गर्नुभयो।
कार्यक्रमको दोस्रो सत्रमा सभापति लोकनाथ भट्टराई द्वारा प्रस्तुत शाखा प्रतिवेदन, कोषाध्यक्ष शिवकोटीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र शाखाका प्रबन्धक कमल सुवेदीद्वारा प्रस्तुत वार्षिक गतिविधिलाई शाखा सभाले अनुमोदन गरेको थियो।

