
भद्रपुर २७,असार / नेपाल परिवार नियोजन संघ झापा शाखाको नयाँ नेतृत्व चयनका लागि आगामी असार ३१ गते भद्रपुरमा निर्वाचन हुने भएको छ। संघको ३ वर्षे आगामी कार्यकालको सभापति पदका लागि निवर्तमान सचिव राजेन्द्र भट्टराई र पूर्व सचिव तोयानाथ गड्तौलाबीच प्रतिस्पर्धा हुँदैछ। गड्तौला भद्रपुर वडा नम्बर -८ का पुराना बासी हुनुहुन्छ भने भट्टराई बिर्तामोड-५ मा बस्नुहुन्छ। क्षेत्रगत हिसाबले हेर्दा भद्रपुरका मतदाता धेरै भएको, परिवार नियोजन संघमा लामो समय सेवा पुर्याएको र प्रारम्भिक उम्मेदवारी दिएकी कञ्चना सिटौलाले गड्तौलालाई समर्थन गरेकोले पनि उनको स्थिति मजबुत रहेको आम मतदाताको बुझाइ छ।
लामो समयदेखि संघमा सक्रिय दुई उम्मेद्वार चुनावी मैदानमा उत्रिएपछि झापामा यस निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ। जिल्लाभरीबाट आजीवन र साधारण गरी ७ सय ८७ जना मतदाताहरू यो निर्वाचनमा सहभागी हुँदैछन्। यसमध्ये भद्रपुर मात्रै ३५८ मतदाता रहेका छन्।
मतदाताको संख्या ठूलो र जिल्लाव्यापी रहेकाले दुवै पक्ष अहिले आफ्नो पक्षमा नतिजा पार्न आन्तरिक रणनीति र चुनावी प्रचारप्रसारमा व्यस्त छन्।
सभापतिबाहेक कोषाध्यक्ष पदमा भने सर्वसम्मत नेतृत्व चयन भइसकेको छ। कोषाध्यक्ष पदका लागि एक जना झुमा शिवाकोटी दाहालको मात्र उम्मेदवारी परेकाले उक्त पदमा उहाँ निर्विरोध निर्वाचित भइसके पनि औपचारिक घोषणा गर्न बाँकी छ। कोषाध्यक्षको औपचारिक घोषणा साधारण सभाकै दिन गरिने बुझिएको छ। साधारण सभा असार ३२ गते बस्दैछ।
यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा लामो इतिहास बोकेको सामाजिक संस्था भएकाले सक्षम र गतिशील नेतृत्व चयन गर्न मतदाताहरू उत्साहित देखिएका छन्। असार ३१ गते भद्रपुरमा हुने मतदानले संघको आगामी दिशा र नेतृत्व तय गर्नेछ।