
भद्रपुर १, जेठ / झापाको भद्रपुरमा आयोजना हुँदै आएको प्रतिष्ठित भद्रपुर झापा गोल्ड कपको निर्वाचन आगामी जेठ ९ गते हुने भएको छ। निर्वाचन सम्पन्न गर्न गोल्डकपको कार्यसमितिले तीन सदस्यीय निर्वाचन समिति गठन गरिसकेको जनाएको छ।
निर्वाचन समितिका संयोजक दिपेन्द्र भट्टराईका अनुसार निर्वाचन कार्यक्रम जेठ ८ गतेबाट सुरु हुनेछ। सो दिन मतदाता नामावली टाँस गरिनेछ भने जेठ ९ गते बिहान ८ बजेदेखि १० बजेसम्म मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका तय गरिएको छ।
भद्रपुर झापा गोल्ड कप झापाको ऐतिहासिक मेची रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हो। लामो समयदेखि ओझेलमा परेको मेची रंगशालालाई पुनर्जीवन दिने तथा स्थानीय फुटबल खेलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ।
झापाको भद्रपुरमा भद्रपुर झापा गोल्ड कप का दुई संस्करण भइसकेको छ।