
भद्रपुर १५, असार / नेपाल सरकारले नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीलाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय उपाध्यक्ष पदमा नियुक्त गरेको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयले आगामी दुई वर्षका लागि पराजुलीलाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो।
चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा निर्यात प्रवर्द्धनमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका पराजुलीको नियुक्तिलाई निजी क्षेत्र र चिया व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन्।
पराजुली विगत केही वर्षदेखि नेपाल चिया उत्पादक संघको नेतृत्व गर्दै नेपाली चियाको गुणस्तर सुधार, अन्तर्राष्ट्रिय बजार विस्तार तथा निर्यातमा देखिएका अवरोध हटाउन सक्रिय रूपमा आवाज उठाउँदै आउनुभएको व्यक्तित्व हुनुहुन्छ। बिशेषगरी भारतले नेपाली चियामा लागू गरेको कडाइ, गुणस्तर परीक्षणको समस्या तथा नेपाली चियाको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्नुपर्ने विषयमा उहाले निरन्तर सरकारसँग समन्वय र पहल गर्दै आउनुभएको छ ।
हालै भारतीय पक्षले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रक्रियाका कारण नेपाली चिया निर्यात प्रभावित भएपछि पराजुलीले सरकारलाई कूटनीतिक तथा नीतिगत पहल गर्न आग्रह गर्नुभएको थियो। उहाँले नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला स्थापना, चिया अक्सन सेन्टर सञ्चालन तथा नेपाली चियाको ब्रान्डिङलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आउनुभएको छ।
चिया क्षेत्र अहिले निर्यात, बजार विविधीकरण र गुणस्तर प्रमाणीकरणका चुनौतीसँग जुधिरहेको अवस्थामा अनुभवी व्यवसायी पराजुलीको बोर्डमा आगमनले सरकारी निकाय र निजी क्षेत्रबीचको समन्वय अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। उद्योगी तथा किसानहरूले पनि बोर्डले अब चिया क्षेत्रका दीर्घकालीन समस्या समाधानमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
नेपालको चिया उद्योगले वार्षिक अर्बौं रुपैयाँको वैदेशिक मुद्रा आर्जन गर्दै हजारौं किसान तथा श्रमिकलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। यस्तो अवस्थामा चिया क्षेत्रको अनुभव बोकेका व्यक्तित्वलाई बोर्डको नेतृत्व तहमा जिम्मेवारी दिइनु क्षेत्रको विकासका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
यस क्रममा नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहालले नेपाली चिया माथिको संकट दूर हुने आशा पलाएको बताउँदै पराजुलीको कार्यकाल कोसे ढुङ्गो साबित हुने विश्वास व्यक्त गर्नुभएको छ।
