ताजा समाचार लोड हुँदैछ...

चिया उद्योगहरू सञ्चालनमा: बन्दको कार्यक्रम स्थगित

२०२६ जुन २५ पटक पढिएको

झापा र इलामका बन्द चिया उद्योगहरू सञ्चालनमा आएका छन्। प्रधानमन्त्रीको कार्यालयले नेपाल चिया उत्पादक संघको प्रतिनिधि मण्डललाई भेटेर निर्यातमा देखिएको समस्यालाई सम्बोधन गर्ने तथा नेपाल सरकारले चिया क्षेत्रका समस्या समाधानका लागि विशेष कार्यदल गठन गरेपछ

Featured

भद्रपुर ११,असार / झापा र इलामका बन्द चिया उद्योगहरू सञ्चालनमा आएका छन्। प्रधानमन्त्रीको कार्यालयले नेपाल चिया उत्पादक संघको प्रतिनिधि मण्डललाई भेटेर निर्यातमा देखिएको समस्यालाई सम्बोधन गर्ने तथा नेपाल सरकारले चिया क्षेत्रका समस्या समाधानका लागि विशेष कार्यदल गठन गरेपछि नेपाल चिया उत्पादक संघले बन्दका कार्यक्रम स्थगित गर्दै उद्योगहरू खोल्ने निर्णय गरेको हो।
​ भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ 'स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर' (SOP) का कारण नेपाली चिया भारत निर्यातमा अप्रत्याशित अवरोध सिर्जना भएपछि झापा र इलामका चिया उद्योगहरू गम्भीर संकटमा परेका थिए। निर्यात ठप्प भई नेपाल सरकारबाट समयमै सुनुवाइ नभएपछि व्यवसायीहरूले बाध्य भएर उद्योगहरू बन्द गरेका थिए।
​तर, चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न, किसानका समस्या पहिचान गर्न र नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने दीर्घकालीन जिम्मेवारीसहित नेपाल सरकारले 'विशेष कार्यदल' गठन गरेपछि संघले यस कदमलाई सकारात्मक रूपमा लिएको छ।
​ यसैक्रममा, नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीको नेतृत्वमा राजधानी पुगेको प्रतिनिधिमण्डललाई प्रधानमन्त्रीको कार्यालयबाट चिया क्षेत्रका विद्यमान समस्याहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै यथाशीघ्र कूटनीतिक तथा प्रशासनिक पहल गर्ने स्पष्ट आश्वासन प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ।
​सरकारको यस कदमप्रति आश्वस्त हुँदै, चिया बगानमा किसानहरूको हरियो चियापत्ती हुर्कँदै गएको संवेदनशील अवस्था र चिया मजदुरहरूको दैनिक गुजारामा परेको प्रत्यक्ष असरलाई मध्यनजर राख्दै संघले उद्योगहरू सधैँका लागि बन्द गरिरहनु उपयुक्त नहुने ठहर गरेको हो।
​त्यसैले, सरकारको सकारात्मक पहललाई सम्मान गर्दै असार ३ गतेदेखि बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालन गर्ने र चिया क्षेत्र खुला गर्ने निर्णय गरिएको नेपाल चिया उत्पादक संघका उपाध्यक्ष शिवकुमार गुप्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा संघले चिया क्षेत्रको दिगो समाधानका लागि तदारुकता देखाएकोमा नेपाल सरकार र चियाको समस्या उजागर गर्न सहयोग गर्ने सबै सरोकारवालाप्रति धन्यवाद समेत व्यक्त गरेको छ।

साझा गर्नुहोस्: