
भद्रपुर ९,असार / एच आइ भी.सेवा गुणस्तर तथा पहुँच विस्तारका लागि झापामा सञ्चालित कार्यदलको बैठकले मौखिक प्रतिष्थापन उपचार सेवा प्रादेशिक अस्पताल भद्रपुरमा मात्रै रहेकाले जिल्लाका अन्य क्षेत्रमा पनि बिस्तार गर्नुपर्ने आवश्यकता औल्याएको छ। भद्रपुरमा मात्रै रहँदा दमक लगायत अन्य भेकबाट आउने सेवाग्राहीलाई कठिन भएको बैठकले निष्कर्ष निकालेको छ।
रिकभरी नेपालको साझेदारीमा सामुदायिक विकास मञ्चद्वारा सञ्चालित अनुगमन कार्यक्रम अन्तर्गतको कार्आयदलको आज बसेको बैठकले समस्याको पहिचान गरी त्यसको समाधानको उपायहरूको बारेमा आगामी दिनमा कार्ययोजना निर्माण गरी लागू गर्ने पनि निर्णय गरेको छ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका एच आइ भी.फोकल पर्सन वीरेन्द्रकुमार दासको अध्यक्षतामा भएको बैठकले harmonal थेरापीको अभाव भएको, समलिङ्गी समुदायको लागि समस्या भएको, सूचना तथा शिक्षा सामग्रीको अभाव रहेको , मानसिक परामर्श सेवाको पहुँच पर्याप्त नभएको, prep. [एचआईभी नभएकाहरूलाई (HIV-negative) व्यक्तिहरूले एचआईभी संक्रमणबाट बच्नका लागि प्रयोग गर्ने औषधि]काे सुविधा नभएको र सङ्क्रमित गर्भवती महिलाहरूको सुत्केरी गराउने व्यवस्था झापामा नभई धरान लानुपर्ने बाध्यता रहेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ।
एच आइ भी, टीवी र मलेरियामा सेवाको गुणस्तर र पहुँच सुधारका लागि सञ्चालित यो कार्यक्रम नेपालका १० वटा जिल्लामा चलेको छ। सेवा प्रवाहमा हुने अवरोधलाई हटाउने र सेवालाई सरल र शुलभ बनाउने सो कार्यक्रमलाई सहयोग गर्न कार्यदलले सहयोगी वातावरण निर्माण गर्ने गर्दछ। लक्षित समूहसँग छलफल परामर्श र कार्ययोजना निर्माण गर्ने र कार्यान्वयन गर्ने समुदायकोे नेतृत्वमा अनुगमन गर्ने कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित छ भने मे र जुन महिनामा १९० लक्षित समूहसँग छलफल गरी तथ्याङ्क संकलन गरेको कार्यक्रमका फोकल पर्सन् दीपक ढकालले जनाउनु भएको छ ।