
भद्रपुर ४ असार / ओमसाई पाथीभरा अस्पतालले बिरामीहरूको सुविधालाई मध्यनजर गर्दै घरदेखि अस्पतालसम्म ल्याउने र उपचारपछि घरसम्म पुर्याउने यातायात सेवा सुरु गरेको छ ।अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सहजता प्रदान गर्ने उद्देश्यले दुई वटा कारमार्फत ‘पिक एण्ड ड्रप’ सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष दीपक पोखरेलका अनुसार पक्की सडक पुगेका क्षेत्रका बिरामीलाई घरबाटै अस्पताल ल्याउने र उपचारपछि पुनः घरसम्म पुर्याउने व्यवस्था गरिएको हो । उहाँका अनुसार बाहुनडाँगी, काँकरभिट्टा, इटाभट्टा, धुलाबारी, चारआली, बिर्तामोड, केचना, हल्दिबारी, पृथ्वीनगर, बाह्रदशी, भद्रपुर लगायतका क्षेत्रका बिरामीले यो सुविधा लिन सक्नेछन् ।
“एक जना बिरामीसँग थप तीन जना सहयोगी पनि गाडीमा आउन–जान सक्नुहुन्छ,” पोखरेलले भन्नुभयो, “घरदेखि अस्पतालले केवल गाडीको खर्च (ड्राइभर र मेन्टेनेन्स) को लागि दूरीअनुसार प्रतिकिलोमिटर २० रुपैयाँ मात्र शुल्क लिइनेछ । यो बिरामीका लागि भाडा नभई सहजताका लागि प्रदान गरिएको सुविधा हो ।”अस्पतालले गाडीमा ‘पिकअप एण्ड ड्रप’ सेवा र सम्पर्क नम्बर उल्लेख गरी २४ सै घण्टा सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
स्थापनाकालदेखि नै बिरामीको अवस्था र आवश्यकतालाई ध्यानमा राखेर उपचार सेवा प्रदान गर्दै आएको अस्पतालका अध्यक्ष पोख्रेलले आगामी दिनमा पनि बिरामी मैत्री सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।