
भद्रपुर ४,असार / भद्रपुरमा क्रिकेट खेलप्रति युवाहरूको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै गौरव सुब्बा 'मनोज'को अध्यक्षतामा ‘मेची क्रिकेट एकाडमी’ गठन गरिएको छ।
युवाहरूको खेलप्रतिको रुचिलाई प्रवर्द्धन गर्ने र उनीहरूलाई आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यका साथ १३ सदस्यीय समितिको गठन गरिएको हो। एकाडमीले युवा खेलाडीहरूलाई व्यावसायिक रूपमा अघि बढाउन विशेष प्रशिक्षणको व्यवस्था गर्ने भएको छ।
भदौ १ देखि क्रिकेट प्रशिक्षण सुरु हुने
नवगठित एकाडमीले आगामी भदौ १ गतेबाट विधिवत् रूपमा क्रिकेट प्रशिक्षण सञ्चालन गर्ने लक्ष्य राखेको छ। यस प्रशिक्षणले स्थानीय स्तरमा रहेका क्रिकेट प्रतिभाहरूलाई बाहिर ल्याउन र उनीहरूको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
मेची बहुमुखी क्याम्पसको मैदान स्तरोन्नति गरिँदै
प्रशिक्षण र खेल गतिविधिहरूलाई प्रभावकारी बनाउनका लागि भौतिक पूर्वाधार निर्माणलाई पनि तीव्रता दिइएको छ। भद्रपुर क्रिकेट क्लबका संरक्षक तथा ८ नम्बर वडा अध्यक्ष एवं नवगठित एकाडेमीका अध्यक्ष सुब्बाक अनुसार भद्रपुर-८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानलाई स्तरोन्नति गर्ने कार्य निरन्तर जारी छ।
एकाडमीका अनुसार खेलाडीहरूलाई उत्कृष्ट वातावरणमा अभ्यास गराउनका लागि उक्त मैदानमा पिच (Pitch) तथा प्याभिलियन (Pavillion) निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाइएको छ। खेल मैदानको स्तरोन्नति भएसँगै भद्रपुरमा क्रिकेटको व्यावसायिक विकासले थप गति लिने अपेक्षा गरिएको छ।

