
भद्रपुर २४,जेठ / झापाको भद्रपुर–२ पृथ्वीनगरस्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल ‘कीचकबध’ मा जारी नवौँ पटकको उत्खनन् कार्य अन्तिम चरणमा पुगेको छ। पुरातत्त्व विभागका वरिष्ठ पुरातत्त्वविद् उद्धव आचार्यको नेतृत्वमा जेठ ६ गतेबाट सुरु भएको उत्खनन् कार्य यही जेठ मसान्तभित्र सकिने भएको छ।

सीमित बजेटबाट २४ वर्षदेखि उत्खनन्
वि.सं. २०५८ सालदेखि पुरातत्त्व विभागले यहाँ उत्खनन् कार्य अघि बढाएको थियो। तर, हरेक वर्ष सीमित बजेट र छोटो समयका लागि मात्र काम हुँदा यो ऐतिहासिक स्थलको पूर्ण उत्खनन् अझै हुन सकेको छैन। २०३५ सालमा मेची क्याम्पसका प्राध्यापक घनश्याम खनालको नेतृत्वमा पहिलो पटक उत्खनन् गरिएको यस स्थलमा हालसम्म ९ वटा दरबारका संरचना फेला परिसकेका छन्।
‘माल पाएर पनि चाल नपाएको’ अवस्था
पुरातत्त्वविद् आचार्यका अनुसार यहाँ भेटिएका पुरातात्त्विक वस्तुहरूको कार्बन परीक्षण गर्दा यो स्थल २२-२३ सय वर्ष पुरानो (शुङ्ग–कुषाण कालको) रहेको पुष्टि भएको छ। यहाँ प्रयोग भएका इँटाहरू लुम्बिनीस्थित बुद्ध जन्मस्थलका इँटासँग मेल खान्छन्।
यति ठूलो ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको ठाउँ विश्व सम्पदा सूचीमा समेत पर्न सक्ने क्षमता राख्छ। यद्यपि, स्थानीय सरकार, संरक्षण समिति तथा प्रदेश र संघीय सरकारको पर्याप्त ध्यान नपुग्दा यो क्षेत्र ओझेलमा परेको छ। पुरातत्त्वविद् आचार्य भन्छन्, "यस्तो ऐतिहासिक स्थल हुनु नै झापाको गौरव हो, तर यसको संरक्षणमा भइरहेको ढिलासुस्तीले 'माल पाएर पनि चाल नपाएको' अवस्था सिर्जना गरेको छ।"
संरक्षण र प्रवर्द्धनको खाँचो
हालै नागरिक एफएम र भद्रपुर प्रेस क्लबका अध्यक्ष राजबाबु शंकरसहितको टोलीले कीचकबधमा पुगेर उत्खनन् र भइरहेको प्रगतिको स्थलगत जानकारी लिएको छ। उत्खनन्मा संलग्न पुरातत्त्वविद् आचार्य र फोटोग्राफर रामचन्द्र श्रेष्ठको टोलीले निरन्तर खटिए पनि बजेट र स्थानीय समन्वयको अभावमा कामले गति लिन नसकेको देखिएको छ।
स्थानीय सरोकारवालाहरूका अनुसार:
गुरुयोजनाको अभाव: कीचकबधको संरक्षण र विकासका लागि तत्काल एक स्पष्ट गुरुयोजना आवश्यक छ।
बजेट वृद्धि: सीमित बजेटका कारण वर्षैपिच्छे काम अधुरो रहने समस्याको अन्त्य हुनुपर्छ।
प्रदेश र संघीय सरकारको भूमिका: स्थानीय र वडा कार्यालयको सक्रियताका साथै प्रदेश र संघीय सरकारले यसलाई राष्ट्रिय गौरवको परियोजनाको रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ।
यस स्थललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके भद्रपुरको मात्र नभई समग्र कोशी प्रदेशकै आर्थिक तथा सांस्कृतिक उत्थानमा ठूलो टेवा पुग्ने निश्चित छ। समयमै सरोकारवालाहरूको बुद्धि नखुल्ने हो भने, कीचकबधको यो गौरवमय इतिहास केवल कागजी प्रतिवेदनमा मात्र सीमित हुने जोखिम बढेको छ।
