ताजा समाचार लोड हुँदैछ...

लुपरको प्रकोपले झापाको चिया क्षेत्र संकटमा

२०२६ जुन १ पटक पढिएको

झापाको चिया क्षेत्रमा यस वर्ष पनि क्याटरपिलर प्रजातिको लुपर नामक पात खाने किराको प्रकोप देखिएको छ। गत वर्षबाट सुरु भएको यो रोगको प्रकोप यस वर्ष अत्यधिक बढेपछि किसान र बगान सञ्चालकहरू गम्भीर समस्यामा परेका छन्।

Featured

भद्रपुर, १८ जेठ / झापाको चिया क्षेत्रमा यस वर्ष पनि क्याटरपिलर प्रजातिको लुपर नामक पात खाने किराको प्रकोप देखिएको छ। गत वर्षबाट सुरु भएको यो रोगको प्रकोप यस वर्ष अत्यधिक बढेपछि किसान र बगान सञ्चालकहरू गम्भीर समस्यामा परेका छन्।
विशेषगरी हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिकाका चिया बगानमा किराले चियाका बोटका पात मात्र होइन, बोट नै सखाप पार्न थालेपछि उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिएको छ।

Article image

सरोकारवालाका अनुसार यस वर्ष चिया बगानमा ५० प्रतिशतभन्दा बढी क्षति पुगेको हुनसक्ने आँकलन गरिएको छ। समयमै प्रभावकारी नियन्त्रण गर्न नसकिए चिया उद्योग नै सञ्चालन संकटमा पर्ने खतरा बढेको छ।
झापा भद्रपुर ७ निवासी चिया व्यवसायी शुक्र ढकाल भन्नुहुन्छ- किसानबाट उत्पादित हरियो पत्तिको अपर्याप्तताका कारण चिया प्रशोधन कारखानाहरू धमाधम बन्द हुन थालेका छन्।
चिया क्षेत्रले विगतदेखि नै निर्यात अवरोध, रासायनिक मलको अभाव तथा विभिन्न रोग–किराको समस्या झेल्दै आएको छ। यस वर्ष भने पहिलो टिपाइ (फस्ट प्लकिङ) देखि नै पर्याप्त वर्षा भएकाले उत्पादन र आम्दानी बढ्ने आशामा रहेका किसान दोस्रो टिपाइ सुरु हुनासाथ लुपरको प्रकोपबाट निराश बनेका छन्।
गत वर्ष सीमित क्षेत्रमा देखिएको यो किराको असर यस वर्ष व्यापक बनेको किसानहरूको भनाइ छ। चियामा सामान्य रूपमा देखिने लुपर किराको संक्रमण यसपटक असामान्य रूपमा फैलिएको छ। गत वर्ष करिब ३० प्रतिशत क्षति पुर्‍याएको यो किराले यस वर्ष आधाभन्दा बढी बगान प्रभावित बनाएको अनुमान गरिएको छ।
असार र साउन हरियो पत्ती उत्पादनका दृष्टिले सबैभन्दा महत्वपूर्ण महिना मानिन्छ। तर ,वैशाख–जेठदेखि नै सक्रिय भएको झुसिल्किरा प्रजातिको लुपर क्याटरपिलरले बगानका कोमल तथा हरिया पात खाइदिएपछि उत्पादनमा प्रत्यक्ष असर परेको छ। गत वर्षबाटै किराको प्रकोपले किसानको आम्दानीमा ठूलो धक्का पुगेको थियो, सोही समस्या यस वर्ष थपिँदा आम्दानीमा ठूलो धक्का पुगेको छ। चियाको पात खाइ दिँदा उत्पादनमा ह्रास त आउँछ नै पातबाट खाना बनाउने हरितकण नष्ट हुँदा बोटहरु मरेर बगान नै सखाप हुने अवस्थामा पुगेका छन्।
चिया क्षेत्रको विकास, प्रवर्द्धन र बजारीकरणको जिम्मेवारी पाएको सरकारी निकाय चिया तथा कफी विकास बोर्ड प्रति पनि किसान तथा बगान सञ्चालकहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार प्रकोप नियन्त्रण र प्राविधिक सहयोगका विषयमा बोर्डसँग पर्याप्त समन्वय हुन सकेको छैन।
यता बोर्डका कर्मचारीहरू भने चियामा अत्यधिक शक्तिशाली किटनाशक औषधिको प्रयोगका कारण प्राकृतिक सन्तुलन बिग्रँदा यस्ता समस्या बढ्न सक्ने बताउँछन्। यद्यपि किसानहरू तत्काल प्राविधिक सहयोग, रोग नियन्त्रणका उपाय र सरकारी हस्तक्षेपको माग गरिरहेका छन्।

लुपर क्याटरपिलरको बढ्दो प्रकोपले झापाको प्रमुख नगदे बालीमध्ये एक चियाको उत्पादन, आम्दानी र उद्योगको भविष्यप्रति नै चिन्ता थपिएको छ। यदि समयमै प्रभावकारी नियन्त्रणका उपाय अपनाइएन भने आगामी सिजनहरूमा यसको असर अझ गम्भीर बन्न सक्ने कृषि क्षेत्रका जानकारहरूको चेतावनी छ।

साझा गर्नुहोस्: